काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
आज सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन् ।
यस्तै आज बिहान मात्र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी उपराष्ट्रपति यादवले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि अस्पतालमा पुगेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिंदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का हिजो आइतबार विहान अस्पताल पुगेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
राष्ट्रपति पौडललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ । डा. महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली राष्ट्रपतिको उपचारमा संलग्न छन् । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले नेपालपत्रलाई जानकारी दिए ।
यो पनि पढ्नुहोस्
उपराष्ट्रपति यादवद्वारा राष्ट्रपति पाैडेलको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना