७ बैशाख २०८१, शुक्रबार

बारा-२ मा राजेन्द्र महतो नउठ्ने, उपेन्द्र यादवलाई सघाउने


राजेन्द्र महतो र उपेन्द्र यादव फाइल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बारा–२ बाट उम्मेदवारी नदिने भएका छन् । बारा-२ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयबाट महतो आज आइतबार पछि हटेका हुन् ।

अव बारा-२ मा महतोले उम्मेदवारी नदिई जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएका हुन् । महतोले ९ दलीय सत्ता गठबन्धनको तर्फबाट यादवलाई सघाउने निर्णय गरिसकेको बताउँदै सोहीअनुसार आफू बारा-२ मा प्रतिस्पर्धा नगर्ने निर्णय लिएका हुन् ।

यसअघि गठबन्धन दलमै रहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बारा-२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीले संघीय सरकारबाट बाहिरिसकेको छ भने अव गठबन्धनमा नरहने संकेत गरेको छ ।

यस्तै नेपाली कांग्रेसले जसपाका अध्यक्ष यादवलाई समर्थनको निर्णय आज आइतवार निर्णय गरेको छ । यस्तै उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भोलि २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ का लागि उपनिर्वाचन हुन लागेको हो ।

यो पनि पढ्नुहोस्

बारा-२ मा राजेन्द्र महतोले उपेन्द्र यादवसँग चुनाव लड्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !