१२ बैशाख २०८१, बुधबार

मन्त्रालयको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको निर्णायक बैठक जारी रहेको हो ।

बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवं भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।

यसअघि आज बिहान गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बालुवाटारबाटै हेलिकप्टरमा चितवन उडेका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड बालुवाटारबाटै हेलिकप्टरबाट चितवन गएका थिए ।

प्रधानमन्त्री चितवनबाट फर्किएपछि पुनः बैठक बसेको हो । मन्त्रालयको भागबण्डाको विषय औपचारिक रुपमा टुंग्याउन गठबन्धनका नेताहरु फेरि छलफलमा जुटेका हुन् । गठबन्धनको बैठक पुन: बसेकोले मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

हिजो अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको थियो । प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । गठबन्धनका दलहरूबीच कति वटा मन्त्रालय पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति भएपनि कुन-कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषयमा आज सहमति हुने बताइएको छ ।

हिजो बुधबार बसेको गठबन्धन बैठकमा कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको थियो ।

मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए । अब गठबन्धन दलहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

आज मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने सम्भावना न्यून रहेको छ । यदि शीर्ष नेतृत्व तहमा सहमति भएपनि भोलि मात्रै नयाँ मन्त्रीको शपथ हुन सक्ने सत्ता साझेदार दलका एक नेताले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !