हेटौंडा । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बागमती प्रदेशसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका हुन् ।
प्रदेशसभामा बोल्दै नेता थपलियाले एमाले प्रदेश सरकार बाहिरिएसंगै अव सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।
यसअघि एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका थिए । चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
बागमती सरकारमा एमालेबाट अर्थमन्त्री जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री रहेका थिए ।
यो पनि पढ्नुहोस्