१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा माओवादी घटकहरुको संयुक्त बैठक जारी


माओवादी घटकहरुको संयुक्त बैठक

काठमाडौँ । नेकपा माओवादी घटकहरुको संयुक्त बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकहरुको संयुक्त बैठक जारी रहेको हो ।

पार्टी एकतासाथै जनयुद्धका घटनाका विषयमा साझा धारणा बनाउन माओवादी घटकहरुको बैठक जारी रहेको हो । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुको संयुक्त बैठक जारी रहेको हो ।

जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी रहेका छन् ।

जारी बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रबिक्रम चन्द ‘बिप्लव’, कृष्णबहादुर महरा, खड्गबहादुर विक ‘प्रकाण्ड’, विश्वभक्त दुलाल ‘आहुति’, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागी रहेका छन् ।

सर्वोच्च अदालतले जनयुद्धको विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट दर्ता गर्न मिल्ने आदेश दिएसँगै माओवादी घटकको बैठक बाक्लिएको हो ।

गत मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । माओवादी घटकहरुले सर्वोच्च अदालतको आदेश शान्ति प्रक्रिया विपरीत रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !