१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा आज आठ दलीय गठबन्धनको बैठक बस्दै


८ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज दिउँसो ४ बजे आठ दलीय गठबन्धनको बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा पछिल्लो देशको राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श जारी राखेका छन् ।

राष्ट्रपति निर्वाचनको लागि बनेको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका पाखा लगाएर नेपाली कांग्रेससहितका आठ दलको गठबन्धनको बनाएका हुन् ।

आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बनेका छन् भने एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । तर माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएपछि सुदूरपश्चिम प्रदेशको विषयलाई लिएर गठबन्धनमा खटपट सिर्जना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !