१९ बैशाख २०८१, बुधबार

सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरिएको हो ।

शोक प्रस्तावमा भनिएको छ – “प्रतिनिधि सभाको यो बैठक जनता समाजवादी पार्टी, नेपालबाट वि.सं. २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित एवं वञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाउनु भएकी शहनाज रहमानको मिति २०७९ फागुन १३ गते शनिबार हृदयघातको कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक- सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सदस्य रहेकी रहमानको गत शनिबार हृदयघातका कारण ६३ बर्षको उमेरमा असामयिक निधन भएको थियो ।

दिवंगत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौनधारण समेत गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक पर्सी फागुन १७ गते दिउँसो १ का लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !