११ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन कांग्रेस शीर्ष नेताहरु बालुवाटारमा


प्रचण्ड र शेरबहादुर देउवा धुम्बाराही फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति जुटाउन कांग्रेस शीर्ष नेताहरु प्रधानमन्त्रिको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगन थापा बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस शीर्ष नेताको छलफल जारी रहेको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दै कांग्रेस नेताहरू बालुवाटार पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस शीर्ष नेताहरूबीच राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न र देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भोलि सोमबार पदाधिकारी बैठक बोलाएको छ । माओवादीको पदाधिकारी बैठक बस्नुअघि कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्ड भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने पनि तयारी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने पूर्वनिर्धारित कार्यतालिका रहेको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २५ गते राष्ट्रपतिका निर्वाचनमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार सुन्न पाउने बताएका थिए । आज आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका थिए ।

यद्यपि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरेका हुन् ।

तर नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा नभएको बताएका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने दाबी गरेका हुन् ।

यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् । आज आइतबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएकोले सबैले समर्थन गर्ने व्यक्ति हुनुपर्नेमा जोड दिएका हुन् ।

यो पनि पढ्नुहोस्

कांग्रेसकै उम्मेदवार राष्ट्रपति भएको समाचार सुन्न पाउनुहुनेछ : महामन्त्री शर्मा

राष्ट्रपति एमालेबाटै बन्छ, उम्मेदवार १३ गते सार्वजनिक गर्छाैं : अध्यक्ष ओली

राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुन्छ : अध्यक्ष नेपाल

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सबैले समर्थन गर्ने व्यक्ति हुनुपर्छ : महासचिव गुरुङ

सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा छैन : माधव नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !