८ बैशाख २०८१, शनिबार

नेता भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी


डा. चन्द्रकान्त भण्डारी

काठमाडौँ । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी गरिएको छ ।

भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी गरिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो । भण्डारी र उनकी आमा आमा हरिकला भण्डारी दुवै जनालाई उपचारको लागि एयर एम्बुलेन्समार्फत भारत लाने तयारी गरिएको हो ।

खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजान कीर्तिपुरस्थित बर्न अस्पतालले सिफारिस गरेको छ । उनलाई उक्त अस्पतालको सघन उपचार कक्ष (आइसियु मा उपचार भइरहेको छ ।

नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् । गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर दुवैजना घाइते भएका थिए ।

अस्पतालका जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीका अनुसार नेता डा. भण्डारीको अनुहार, दुवै हात र गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।

डा भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ । नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !