१४ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्री पौडेलद्वारा बजेटको अर्ध–बार्षिक मूल्यांकन प्रतिवेदन पेश


बिष्णुप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७९/८० को बजेटको अर्ध–बार्षिक मूल्यांकन प्रतिवेदन पेश गरेका छन् ।

मन्त्री पौडेलको वक्तव्यका सम्बन्धमा सांसदहरुले पूरक प्रश्न गर्दै स्पष्टिकरण समेत माग गरेका थिए भने मन्त्री पौडेलले पूरक प्रश्नको समेत जवाफ दिएका थिए । मन्त्री पौडेलले सो अर्ध–बार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा समेत वक्तव्य दिइसकेका छन् ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको बार्षिक प्रतिवेदन २०७८/७९’ पेश गरे ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०६/२८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गरेका थिए ।

अब बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि आउँदो असारसम्मका लागि थपिएको छ । राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा बोल्दै सभाध्यक्ष मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य कर्मा घलेको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । स्व.घले नेपाली काँग्रेसको तर्फबाट वि.सं.२०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सदस्यकारुपमा निर्वाचित भएका थिए ।

उनको ५९ वर्षको उमेरमा यही माघ २४ गते मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।स्व.घलेको निधन प्रति शोक व्यक्ति गर्न बैठकमा एक मिनेट मौनधारण समेत गरिएको थियो । राष्ट्रिय सभाको आजको बैठक यही फागुन १४ गते दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !