७ बैशाख २०८१, शुक्रबार

रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउन चर्को दबाब आयो : प्रधानमन्त्री प्रचण्ड


माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् ।

माओवादी केन्द्रको आज मंगलबार बसेको पदाधिकारी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट चर्को दबाब आएको बताएका हुन् ।

प्रचण्डले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउने निर्णय नगर्ने बताएका पनि छन् । उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने संकेत गरेका हुन् ।

रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बिहान बालुवाटारमा भेटेर आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएका थिए । आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको उपप्रधान एवं गृह मन्त्रालयमा पुनः नियुक्त गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले आज मंगलबार साँझसम्मको समयसीमा दिएको रविको सचिवालयले जनाएको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन: उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्ने बारेमा ग्रिन सिग्नल दिएका थिएनन् ।

सभापति लामिछानेले दुई दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए । सत्ता गठबन्धनमा यसअघि भएको सहमतिअनुसार एमाले र रास्वपाले भने रास्वपाले नै पाउनेपर्ने अडान राख्दै आएका छन् । रास्वपाले गृह मन्त्रालय आफ्नो बटमलाइन भएकोले त्यसमा कुनै पनि तलमाथि गर्न नहुने बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई रविको अल्टिमेटम : बेलुकीसम्म गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्छौं

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

गृहमन्त्रीमा रविको पक्षमा ओली, प्रचण्डको आँखा शक्ति बस्नेततिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !