१९ बैशाख २०८१, बुधबार

यी हुन एमालेबाट आज मन्त्री बन्ने सांसदहरु


हरि उप्रेती, डा. विमला राई पौडेल, भगवती चौधरी र पदम गिरी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको हिजो सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले नयाँ चार मन्त्री सरकारमा पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ लिइसकेका छन् ।

एमालेबाट आज बन्ने नयाँ मन्त्रीहरूमा सर्लाहीका हरि उप्रेती रक्षा मन्त्री, डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, सुनसरीकी भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र पर्वतका पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका छन् ।

यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !