७ बैशाख २०८१, शुक्रबार

प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्, हामी मत दिन्छौँ’ : अशोक राई


अशोक राई

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललमा उनले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताए ।

उनले विकासका पूर्वाधारलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए । राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने बताए ।

जनमत पार्टीका सांसद अनिता देवीले नागरिकता, मललगायत शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्या समाधान गर्ने सरकारको नीतिगत प्राथमिकतालाई स्वागत गर्दै आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए । उनले समावेशी विकासका अवधारणालाई अङ्गीकार गर्दै सन्तुलित विकास अगाडि बढाउनुपर्ने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत दिए पनि आफूहरु प्रतिपक्षमा बस्ने बताए । उनले टीकापुर घटनाका राजबन्दीलाई तत्काल रिहाइ गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !