२१ बैशाख २०८१, शुक्रबार

नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम आज हुँदै


संघीय संसद फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम आज हुँदै छ । सङ्घीय संसद् सचिवालयले शपथ ग्रहणको लागि सवै आवश्यक तयारी गरिएको जनाएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित अन्य २७४ जना सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् ।

शपथअघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । आज मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुनेछन् ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !