८ बैशाख २०८१, शनिबार

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने


सर्वोच्च अदालत र डा. तोसिमा कार्की

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । आज सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. कार्कीको उम्मेदवारी कायमै रहने आदेश दिएको हो ।

यसअघि न्यायाधीश डा. कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई इजलासले निरन्तरता दिएको हो । डा. तोसिमाको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो ।

उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सर्वोच्चका न्यायाधीश चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट गरेर अदालत गएको थियो ।

सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो । न्यायाधीश चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगरी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा उनले रिट दायर गरेकी थिइन् । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

आयोगले कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेपछि आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी थिइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !