८ जेष्ठ २०८१, मंगलबार

चितवनमा रवि लामिछानेको चुनावी प्रचारको गाडीमाथि तोडफोड


रविको गाडीमाथि तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमाथि चितवनमा तोडफोड भएको छ ।

मुग्लिङ सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा लामिछानेको चुनावी अभियानको गाडीमा ढुंगा प्रहार भएको हो । चितवन प्रहरीका अनुसार प्रहरी अहिले घटनास्थलमा पुगेको छ ।

ढुंगामुढा प्रहारले गाडीमा क्षति पुग्नुको साथै सवारी चालक र एकजना सहयोगी सामान्य घाइते भएका छन् । यद्यपि लामिछानेको अवस्था भने सकुशल रहेको प्रहरीले बताएको छ । लामिछाने चितवन क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

उक्त पार्टीका नेता कार्यकर्ताहरूले गठबन्धनका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूसँग भिडियो पनि रहेको दावी समेत गरेका छन् ।

चितवन-२ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र गठबन्धनका कार्यकर्ताबीच विवाद भएको थियो । चुनावी घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो ।

लामिछानेका कार्यकर्ताले गठबन्धनका कार्यकर्ताहरुलाई हरुवा भनेपछि गठबन्धनका कार्यकर्ताले गाडीमा ढुंगा हानेका थिए । लामिछाने घटनास्थल पुगेर सो क्षेत्रमा भएका तैनाथ प्रहरी अधिकारीसँग आक्रमणकारीलाई कारवाही माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !