१३ बैशाख २०८१, बिहिबार

चुनाव लड्न बाध्यताले गोरखा गएको हुँ, घर त मेरो चितवन नै हो : प्रचण्ड


प्रचण्ड चितवन भरतपुरमा फाइल फोटो

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव लड्न बाध्यताले गोरखा गएको स्पष्ट पारेका छन् ।

आज शनिवार सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव लड्न गोरखा गएपनि आफ्नो घर चितवनमै भएको स्मरण गरेका हुन् ।

प्रचण्डले चितवनप्रतिको लगाब हिजोदेखि नै रहेको तथा आज र भोलि पनि निरन्तर रहने बताउँदै गोरखा जानुपर्ने बाध्यता बुझिदिन सबै चितवनबासीलाई आग्रह गरे ।

उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि चितवनबासीलाई आग्रह समेत गरे । उनले चितवनमा पूर्वाधारका क्षेत्रमा सुरु भएका विकासका कामलाई पूर्णता दिन निरन्तर आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले २०७४ सालको निर्वाचनमा आफूलाई निर्वाचित गराउने चितवन क्षेत्र नम्वर ३ का मतदातालाई धन्यबाद ज्ञापन समेत गरे । उनले गठबन्धनमा रहेका दलका कार्यकर्तालाई भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले विगतमा आफू रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै आफू जहाँ भए पनि चितवनको विकासमा निरन्तरता नै हुने बताए । उनले गोरखाका जनताको ऋण तिर्नुपर्ने अवस्थाले पनि गठबन्धनमा छलफल गरेर नै सो ठाउँमा गएको बताए ।

गठबन्धन राजनीतिक दुर्घटनाको खतरा रहेसम्म कायम रहेको प्रचण्डले बताए । आज भरतपुरको आमसभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरवहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !