६ बैशाख २०८१, बिहिबार

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचनमा हुने त्रिपक्षीय भिडन्त


जीवनराम श्रेष्ठ, शिवसुन्दर राजवैद्य र सुमन सायमी

काठमाडौँ । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा काठमाडौँ ८ मा सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले चार, नेकपा (एमाले)ले दुई, राप्रपाले एक र नेकपा (एकीकृत समाजवादी) एकमा विजयी भएका छन् ।

सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

आगामी निर्वाचनमा श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा स्वतन्त्रबाट सुमन सायमी उम्मेदवार छन् । उनले गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुखमा १३ हजार सात सय ७० मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा छन् । उनी बाग्मती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य पनि हुन् ।

विसं २०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व नवीन्द्रराज जोशीलाई १३ हजार तीन सय ९७ मत ल्याएर चार सय ४४ को मतान्तरले पराजित गरेका थिए । श्रेष्ठसँग प्रतिस्पर्धा गरेका जोशीको गत वर्ष निधन भएको हो ।

गत वैशाखमा भएको स्थानीय तहको निवार्चनको मतको परिणाम केलाउँदा पनि एमालेभन्दा कांग्रेस तीन हजार छ सय ४३ मतले अगाडि छ ।

आठ वडामा कांग्रेसका वडाध्यक्षले कुल आठ हजार सात सय १६ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले तीन हजार ७४ मत र राप्रपाले एक हजार पाँच सय ३९ मत प्राप्त गरेका थिए । कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार सात सय ९० मत प्राप्त गरेका छन् । सो मत गणना गर्दा पनि एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि छ । विसं २०७४ को मत परिणाम र स्थानीय तहको निर्वाचनलाई हेर्दा सो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ ।

कुल ५३ हजार एक सय छ मतदाता रहेको सो क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !