८ जेष्ठ २०८१, मंगलबार

समाजसेवी एवं वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन


मैयादेवी श्रेष्ठ

चितवन । समाजसेवी एवं वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन भएको छ । पूर्व सांसद समेत रहेकी समाजसेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी श्रेष्ठको गएराति १:१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनका धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । उनी यही कात्तिक ४ गतेदेखि उक्त अस्पतालमा उपचाररत थिइन् ।

गत असोज २५ गतेदेखि उनी निमोनिया भएपछि अस्वस्थ भएकी थिइन् । उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो ।

उनी २०४८ सालमा गोरखावाट निर्वाचित भएर सांसद बनेकी थिइन् भने पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद भएर काम गरेकी थिइन् । विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्म भएको थियो ।

पूर्वसांसद श्रेष्ठ चितवनको मैयादेवी कन्या क्याम्पसको संरक्षक थिइन् । उनले हाल चितवनको नारायणगढमा सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्गदेखि शिक्षक झिकाएर पठन पाठन शुरु गराएकी थिइन् । अहिले उक्त स्कूलमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ ।

चितवनको भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च गरेकी थिइन् । समुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको सो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ । उनलाई नेपाल आमा सम्मानबाट सम्मानित गरिएको थियो । उनी अविवाहित थिइन् ।

आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !