२१ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा गठबन्धनको बैठक जारी, जसपाका मन्त्रीलाई हटाउने तयारी


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक जारी रहेको हो ।

आगामी मंसिर ४ गते हुन लागेको आसन्न निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी तालमेल गरेपछि जसपासँग रुष्ट बनेका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।

सरकार पनि बस्ने अनि प्रमुख प्रतिपक्षीसँग चुनावी तालमेल गरेको भन्दै गठबन्धन दलका नेताहरुले जसपाका मन्त्री हटाउन प्रधानमन्त्री शेर देउवालाई दबाब दिएका थिए । उनले यसबारेमा आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेका हुन्।

बालुवाटारमा जारी गठबन्धनको बैठक जसपाका मन्त्रीहरुबारे छलफल भईरहेको बुझिएको छ । बैठकमा गठबन्धन बाहेकका बागी उम्मेदवारको विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले जसपाको मन्त्री हटाउने सम्वन्धमा कानून व्यवसायीसँग समेत परामर्श जारी राखेका छन् ।

जसपाबाट देउवा सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग १७ सीटमा चुनावी तालमेल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !