काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम (कामु) प्रधानन्यायाधीश दीपककुमार कार्की आज आइतबारदेखि बिदा हुने भएका छन् । उमेर हदका कारण कार्कीले अनिवार्य अवकाश पाउने भएका हुन् ।
असोज १६ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका कामु प्रधानन्यायाधीश कार्की भोलि सोमबारदेखि दसैँको बिदा लागु हुने र अदालत बन्द हुने भएकाले उनको एक साताअघि आज नै बिदाई हुन लागेको हो ।
अनिवार्य अवकाशमा जानुअघि सर्वोच्च प्रशासनले कार्कीको बिदाईका लागि आज दिउँसो कार्यक्रम राखेको छ । भोलिदेखि दसैँको बिदाका कारण बन्दी प्रत्यक्षीकरणका मुद्धाको मात्र हुने हुँदा कार्कीको बिदाइ आजै राखिएको हो ।
कार्कीले गत फागुन ११ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए । लगभग साढे ७ महिना सर्वोच्चको नेतृत्व सम्हालेका कार्की उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेर निलम्बनमा परेसँगै कार्कीले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिशका रूपमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए ।
आज दीपक कार्कीको बिदाइसँगै वरिष्ठतम न्यायाधीशका हैसियतले सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले सम्हाल्ने भएका छन् । आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने हरिकृष्णले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । उनले २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।