२३ बैशाख २०८१, आइतबार

चोलेन्द्रले बयानका हरेक पानामा हस्ताक्षर गर्दै, २२ पेजमा गरेसके हस्ताक्षर


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका हरेक पानामा हस्ताक्षर गर्न लागेका छन् । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा आफूले बोलेको कुरालाई उतारेर राखेको कागजमा हस्ताक्षर गर्न लागेका हुन् ।

जबराले गत भदौ १५, १६, १९, २६ र २८ गते दिएको बयानलाई समितिको सचिवालयले उतारेको पत्र (भर्बेटम) मा हस्ताक्षर गर्न लागेका हुन् । केहिसमय अघिसम्म जबराले आफूले दिएको बयान पढेर २२ पेजमा हस्ताक्षर गरेका छन् ।

महाभियोग सिफारिस समितिले उनीमाथि लागेका अभियोगसहित ४३ प्रश्न सोधेकोमा जबराले दिएको बयानको ‘भर्बेटिङ’ उतार्दा करिब १७४ पेजको डकुमेन्ट पेज जति भएको बताइएको छ ।

यसअघि समितिमा भिडियो र अडियोमा दिएको बयान आफ्नै हो भनेर कागज गरिदिने बताएका जबराले आज शुक्रबार त्यसरी भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गराउन लाग्दा भने अस्वीकार गरेका थिए । उनले कागजमा उतारेको बयान आफूले सुनेपछि मात्रै हस्ताक्षर गर्ने अडान राखेका थिए ।

एमालेका समितिका एक सदस्यका अनुसार २४ घण्टा काम गरेर भएपनि प्रतिवेदन बुझाउने समितिको तयारी रहेको छ । बयानका क्रममा जबराले आरोपित गरेर नाम लिएका बहालवाला न्यायाधीशसहित, पूर्वप्रधान्यायाधीशसहित नेपाल बारका प्रतिनिधि र वकिलहरुलाई पनि बोलाएर हिजो बयान दिएको थियो ।

यसअघि जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको भन्दै समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !