९ जेष्ठ २०८१, बुधबार

करोडौँ मानिसको बीचमा भएर पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले आफूलाई एक्लो महसुस हुन थालेको अनुभुति भएको बताएका छन् ।

आज मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’ को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन् ।

प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको स्वीकार गरेका हुन् । उनले अहिलेको अवस्था जे-जस्तो भएपनि समाजवादको यात्रा भने आजसम्म पनि नछाडेको जिकिर गरे ।

उक्त कार्यक्रममा सुदन किराँतीले ‘जनयुद्ध’मा भोगेको जेलको कष्टपूर्ण समय, उनको परिवारले भोगेको पीडा अनि छोराको चिन्ताले रक्सीको दुर्व्यसनीमा परेकी आमाको कारूणिक अवस्थालाई झल्काउने गरी नाटक पनि देखाइएको थियो ।

वास्तवमा बाहिर जतिसुकै दौडधुप र जे-जस्ता कार्य गरेपनि मानिसले आफ्नो आत्मालाई ढाट्न कदापी पनि सक्दैन । मानिसले कहिलेकाहिँ आफ्नो मनभित्र गुम्सिएर रहेका भावनाहरुलाई अचानक ओकल्ने गर्दछ । प्रचण्डले आज त्यो तीतो यथार्थ पोखेका हुन् ।

प्राय: मानिसले एउटा लक्ष्य हासिल गर्न ठूलो मेहनतका साथ रातदिन लागिरहन्छ । प्राप्त नभएको बस्तुको ठूलो महत्व हुने गर्दछ, प्राप्त भइसकेपछि त्यसको महत्व क्रमश: घट्दै जाने गर्दछ । अर्थशास्त्रमा सीमान्त उपयोगिता ह्रासको नियमले पनि यही भन्छ ।

अन्य कुरा यथावत रहेमा कुनै पनि व्यक्तिले आफुसंग भएको बस्तुको उपभोगको मात्रा वृद्धि गर्दै लैजादा वृद्धिको मात्रासगै प्राप्त हुने अतिरिक्त लाभ ह्रास हुँदै जान्छ जसलाई सीमान्त उपयोगिता ह्रासको नियम भनिन्छ ।

जनयुद्धताका प्रचण्डको लक्ष्य देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु थियो तर त्यो आइसकेपनि सोचेअनुसार देश समाजवादको बाटोमा लाग्न सकेको छैन । नेपाली जनता अझै पनि नागरिक हुन सकेका छैनन् ।

नेपालीले समाजवादको महसुस गर्न नसकेकोमा उनमा निराशा पैदा भएको पनि हुनसक्छ । जे-जस्तो भएपनि प्रचण्डको एउटा सकारात्मक कुरा के भने उनले केही काम गरिसकेपछि आफूलाई ठिक नलागेमा गल्ती स्वीकार गरेर माफी पनि माग्ने गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !