६ जेष्ठ २०८१, आइतबार

चिनियाँ नेता लीले आज देउवा, ओली, प्रचण्डलाई आज भेट्ने, यस्तो छ कार्यसूची


लि झान्सु र अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली झान्सुको आज उच्चस्तरीय भेटघाटको कार्यक्रम रहेको छ ।

सभामुख लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको हो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग चिनियाँ सभामुख झान्सुले आज बिहान ९:१५ बजे संघीय संसद भवनमै भेट गर्नेछन् । त्यसपछि सभामुख लीले अन्य नेपाली शीर्ष नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन् ।

बिहान १० बजे प्रमुख एमालेका अध्यक्ष ओलीसँग र १०:४५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सभामुख झान्सुले संसद भवनमै भेट गर्ने कार्यक्रम रहेको छ ।

संसद भवनमै मंगलबार बिहान १० बजे प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग करिब ४५ मिनेट भेटवार्ता हुने छ । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची रहेको छ । त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग कुरा गर्नेछन् ।

आज अपराह्न १२:३० बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको छ । सोल्टी होटल फर्किएपछि खाना खाएर केही समय आराम गर्ने छन् ।

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ । त्यसपछि उनी दिउँसो १५:४० बजे सोल्टीबाट प्रधानमन्त्री शेरबहुदर देउवालाई भेट्न बालुवाटार प्रस्थान गर्नेछन् ।

उनी दिउँसो ४ बजे बालुवाटार पुग्नेछन् । ४:५ बजेदेखि प्रधानमन्त्री देउवासँग आधा घण्टा शिष्टाचार भेटवार्ता गरेपछि उनी सोल्टी होटल फर्किनेछन् । उनी बालुवाटारबाट १६:३५ बजे सोल्टी होटल हिडेर १६:५५ बजे पुग्नेछन् । होटल फर्किएपछि उनको आजको भेटघाट सकिनेछ ।

चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ । मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !