८ जेष्ठ २०८१, मंगलबार

चिनियाँ सभामुख लीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्ने, यस्तो छ कार्यतालिका


लि झान्सु र अग्निप्रसाद सापकोटा

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु काठमाडौँ आइपुगेका हुन् ।

अध्यक्ष झान्सु आज भदौ २७ देखि ३० गतेसम्म नेपालको औपचारिक भ्रमणका लागि विशेष विमानबाट नेपाल आएका हुन् । अघिल्लो बर्षको चैत्र महिनामा भएको दुई पक्षीय भर्चुअल मिटिङ्गको क्रममा सभामुख सापकोटाले समकक्षी झान्सुलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु सभामुख सापकोटाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आएका हुन् । छिमेकी मुलुक चीनको सभामुखस्तरीय नेपाल भ्रमण पहिलो पटक भएको हो ।

लीको टोलीलाई सभामुख सापकोटाले साँझ ५ बजे संसद भवनमा स्वागत गर्ने कार्यतालिका रहेको छ । चिनियाँ सभामुख झान्सु र सभामुख सापकोटाबीच आज साँझ ५ः२० मा संघीय संसद भवन नयाँ बानेश्वरमा दुईपक्षीय भेटघाट हुने कार्यक्रम रहेको छ ।

भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल-चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने छन् । दुई पक्षीय छलफलपछि दुई देशको संसदको आपसी हित र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत हुनेछ ।

आजै साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने छन् । आज नै सभामुख सापकोटाले झान्सु नेतृत्वको प्रतिनिधि मण्डलको सम्मानमा साँझ ७:३० बजे सोल्टी होटलमा रात्री भोजको आयोजना गरेका छन् ।

भोलि बिहान ९ बजे ली सोल्टीबाट सिधै बानेश्वरस्थित संघीय संसद भवन आउनेछन् । बिहान ९:१५ पछि राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेलगत्तै १० बजे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् भने १०:४५ बजे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले भेटवार्ता गर्नेछन् ।

अपराह्न १२:३० बजे सोल्टी होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ । त्यसपछि उनी दिउँसो १५:४० बजे सोल्टीबाट प्रधानमन्त्री शेरबहुदर देउवालाई भेट्न बालुवाटार प्रस्थान गर्नेछन् ।

उनी दिउँसो ४ बजे बालुवाटार पुग्नेछन् । ४:५ बजेदेखि प्रधानमन्त्री देउवासँग आधा घण्टा शिष्टाचार भेटवार्ता गरेपछि उनी सोल्टी होटल फर्किनेछन् । उनी बालुवाटारबाट १६:३५ बजे सोल्टी होटल हिडेर १६:५५ बजे पुग्नेछन् । होटल फर्किएपछि उनको भोलिको भेटघाट सकिनेछ ।

यस्तै पर्सी बुधबार बिहान ली ९:३० बजेसोल्टी होटेलबाट भक्तपुरतर्फ प्रस्थान गर्ने छन् । उनको चिनियाँ प्रतिनिधि मण्डलले २०७२ सालको भूकम्पबाट क्षति भई पुनर्निर्माण भएका भक्तपुर दरबार परिसरका मठमन्दिरहरुको अवलोकन भ्रमण गरेर दुई घण्टापछि ११:३० बजे फर्किएर १२:१५ बजे होटल पुग्नेछन् ।

लीले पर्सी बुधबार१५:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सोल्टीबाट राष्ट्रपति कार्यालय शीतल निवास प्रस्थान गर्नेछन् । दिउँसो १५:५५ राष्ट्रपति कार्यालय पुगेपछि लगभग ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

झान्सु नेतृत्वको टोली आफ्नो चार दिने भ्रमण सकेर भाद्र ३० गते गते बिहिबार बिहान विशेष विमानबाटै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ हेर्नुस् चिनियाँ सभामुख लीको नेपाल भ्रमण कार्यतालिका

भ्रमण कार्यतालिका भ्रमण कार्यतालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !