१२ बैशाख २०८१, बुधबार

‘समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन’


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्,“यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ । ”

किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै उनले अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र नहुने बताए । जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।

“समाज परिवर्तन, राष्ट्रको उत्थानका लागि नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति हुनुपर्छ, त्यसका लागि सुपठित हुनु पहिलो शर्त हो, समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञान र सभ्यताको समृद्धि पनि हो”, उनले भनिन् ।

अनेक भाषा वा भएको देशमा अन्य देशमा लगेर साहित्यलाई समृद्ध बनाउने फाउण्डेशनका प्रयत्न स्वागतयोग्य रहेको उनले बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमको अथक साधना र संस्कृतिविद् सत्यमोहन जोशीको बहुआयामिकताको पनि प्रशंसा गरिन् ।

कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।

शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । फाउण्डेशनका अध्यक्ष ऋषिराम अधिकारीले विगत पाँच वर्षअघिदेखि किताब जात्राको आयोजना गर्दै आएको जानकारी दिए । जात्राका अवसरमा पठन संस्कृति, नेपाली साहित्यलगायत विषयमा बहस पनि आयोजना गरिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !