काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस रामराम भन्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । आज बिहीवार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो टिप्पणी गरेका हुन् ।
यादवले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको बताएका हुन् । उनले काँग्रेस जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
उनले बीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको आरोप समेत लगाए । उनले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको विश्लेषण गरेका हुन् ।