१४ बैशाख २०८१, शुक्रबार

सिट बाँडफाँटमा कार्यदलको सहमति सार्वजनिक गरिँदै, शीर्ष नेतालाई प्रतिवेदन बुझाइदैं


कार्यदल बैठक

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको हो ।

आगामी निर्वाचनमा गठबन्धनका कुन दलले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यदलले आज सार्वजनिक गर्ने भएको छ । यस्तै कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने पनि भएको छ ।

पाँच दलीय गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आजसम्म टुङ्ग्याउने भएको हो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम सकेसम्म आज बुधबार नै टुङ्ग्याउने गरी हिजोको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनले जानकारी दिए ।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको सचिव जोशीले बताए । कार्यदलको आज साँझ बस्ने बैठकले आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको जनाइएको हो ।

यसअघि गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए । स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ भने अन्य बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ ।

कांग्रेसको अर्को संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडान लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेपछि केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !