१२ बैशाख २०८१, बुधबार

निलम्बित प्रधानन्यायाधीश जबराले संसदीय समितिमाथि नै उठाए प्रश्न


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका छन् ।

सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा आज बिहीबार बसेको बैठकमा जबराले महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु नै सिफारिस समितिमा रहेको भन्दै प्रश्न उठाएका हुन् ।

आज जबरालाई लगभग २ घण्टा बयानको लागि २ वटा प्रश्न मात्र सोधिएको छ । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेपनि हिजोको बैठकमा जबरालाई ४ वटा प्रश्न सोधिएको थियो भने आज पाँचौं र छैटौं प्रश्न मात्र सोधिएको हो ।

उनले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको भन्दै समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए ।

समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरेकी थिइन् । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीय रुपमा आरोप लगाएको बयान दिएका छन् ।

जबराले आज पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् । जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे ।

उनले एक-दुई महिना भए पनि कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरूलाई हुन्न भनेकाले आफूमाथि यस्तो षड्यन्त्र रचिएको जिकिर गरे ।

समितिका एक सदस्यका अनुसार जबराले पटक-पटक नियमावली र संविधान स्मरण गराएका थिए । जबराले प्रश्नको जवाफ नदिएपछि सांसदहरुले विषयमा प्रवेश गर्न भनेका थिए ।

समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम जारी रहेको छ । आजसम्म ६ वटा प्रश्न सकिएकोले अर्को बैठक भदौं १९ गते आइतबारलाई बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !