६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा गराए दल दर्ता


प्रचण्ड, बाबुराम र नारायणकाजी

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज मंगलबार निर्वाचन आयोग पुगेर संयुक्त रुपमा दल दर्ता गरेका हुन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो । दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो ।

नेसपा अध्यक्ष डा.भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए । दल दर्ताका लागि आज दिउँसो माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । आगामी निर्वाचनका लागि काँग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !