७ बैशाख २०८१, शुक्रबार

प्रहरी समायोजनको माग गर्दै मधेशका मन्त्रीको नेतृत्वमा आजदेखि धर्ना

मधेश प्रदेश सरकारद्वारा संघीय सरकारविरुद्ध आन्दोलन सुरु


मधेस प्रदेश प्रमुखको कार्यालय

बिराटनगर । मधेश प्रदेश सरकारले आज आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्रीले आजदेखि धर्नामा बस्ने भएका हुन् ।

प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नुपर्ने माग राख्दै मधेश सरकारले आजदेखि एक सातासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको हो । दैनिक २ घण्टा हुने धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने छ ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरे तापनि नमानेपछि यस्तो कदम चाल्न बाध्य भएको मधेश प्रदेशका मन्त्रीले बताएका छन् । यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको हो ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअगावै प्रहरी समायोजन गर्न दिइएको ध्यानाकर्षणपत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाहले बताए ।

शनिबार गरिएको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरे । आज आइतबारबाट बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध ‘थप कडा’ आन्दोलनको कार्यक्रम घोषणा गरिने उनले चेतावनी दिए । मन्त्री शाहले सबै उत्पीडित समुदायको हितका लागि आफूहरूले धर्ना कार्यक्रम गर्नुपरेको उल्लेख गर्दै त्यसमा ऐक्यबद्धता जनाउन सबै प्रदेशका सरकारलाई पनि आह्वान गरेका छन् ।

प्रदेश सरकारहरूले प्रहरी समायोजनको काम चाँडो सक्न संघीय सरकारलाई दबाब दिँदै आएका छन् । यसअघि सबै प्रदेशका गृहमन्त्रीहरूको भेलाले संघीय सरकारलाई प्रहरी समायोजन ऐन तत्काल जारी गरेर प्रहरीलाई प्रदेश मातहत दिन आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !