काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण गरेका हुन् ।
आज आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ गराएलगत्तै सिंहदरवार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै दिउँसो अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गर्न दिएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।
उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको थियो । छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थ मन्त्रीको रुपमा जिम्मेवारी दिएका हुन् ।