१४ बैशाख २०८१, शुक्रबार

गभर्नरले नैतिक रुपमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले गभर्नरले राजीनामा दिनुपर्ने विषय उठाएपछि देउवाले सो कुरा बताएका हुन् ।

गभर्नर अधिकारीले नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा एम अधिकारीको नामले काम गरिरहेको भन्दै सामाजिक संजाल र सत्तारुढ दलका सांसदहरु एवं नेताहरुले चर्को आलोचना गर्दै राजीनामा दिनुपर्ने बताउदै आएका छन् ।

एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका हुन् । हिजो मात्र प्रधानमन्त्री देउवाले बोलाएपछि गभर्नर अधिकारीलाई बालुवाटारमा बोलाएर बिफ्रिङ लिएका थिए ।

संसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएर अधिकारीलाई देशको आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको बताए पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको बुझिएको छ ।

बालुवाटार स्रोतकाअनुसार देउवाले गभर्नर अधिकारीलाई बजारमा उठिरहेको प्रश्नको सप्रमाण जवाफ दिन, नसके मार्गप्रशस्त गर्न भनेका थिए । गभर्नर अधिकारीले आफू एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नरहेको र आफ्नो जानकारीबिना एमालेले राखेको हो भने त्यो विषय समेत आफूलाई थाहा नभएको बताएका थिए ।

यसअघि प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरेकी थिइन् ।

उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरेकी थिइन् । यस्तै हिजोको राष्ट्रियसभाको बैठकमा माओवादी केन्द्रका नेता समेत रहेका सांसद नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !