१४ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत जाँदै


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् ।

अध्यक्ष प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा प्रचण्ड आज शुक्रबार नयाँ दिल्ली जान लागेका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । करिव डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट प्रचण्डलाई निम्तो दिएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको दुई दिनपछि नै प्रचण्ड भारत जान लाग्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । चिनियाँ टोली फर्किएलगत्तै प्रचण्डको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

सिपिसीका विदेश विभाग प्रमुख लिउले प्रचण्डलाई भेटेको भोलिपल्ट प्रचण्डलाई भारतीय राजदूत नविन श्रीवास्तव भारत भ्रमणको पुन: निम्तो दिन प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डले पनि भारतको निम्तो सहजै स्वीकार गरेर आज भारत भ्रमण गर्न लागेका हुन् ।

विशेष स्रोतका अनुसार प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने टुंगो नभएपनि विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह लगायतका नेताहरुसँग भेटवार्ता हुने बताइएको छ ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारीअनुसार भेटवार्ताको क्रममा दाहालले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड लामो समयपछि भारत जान लागेका हुन् ।

तत्कालिन नेकपाको अध्यक्ष भएको समयमा प्रचण्डको भारतसँग सम्बन्ध सुमधुर नभएको चर्चा चलेको थियो । प्रचण्डको स्वागतको लागि दिल्लीले आवश्यक सबै तयारी गरिसकेको छ । प्रचण्डको भारत भ्रमणबारे हिजो बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा समेत छलफल भएको थियो ।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि दिल्लीमा नै रहेकी छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा रहेका छन् । प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !