१३ बैशाख २०८१, बिहिबार

श्रीलंकाली राष्ट्रपति भागेजस्तै नेपालमा दुराबस्था नआउला भन्न सकिन्न : उपसभापति गुरुङ


धनराज गुरुङ फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले श्रीलंकाली राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट भागेजस्तै नेपालमा यस्तो दुराबस्था आउन सक्ने संकेत गर्दै सरकारलाई खबरदारी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै उपसभापति गुरुङले नेपालमा पनि आर्थिक संकट द्रुतगतिमा बढिरहेकोले समयमै सुधार्न सकेनौं भने श्रीलंकाको जस्तै दुराबस्था नआउला भन्न सकिन्न भनेर सरकारलाई सचेत गराएका हुन् ।

गुरुङले श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवन घेरेको समाचार पढेको प्रसंग उल्लेख गर्दै श्रीलंकाजस्तो हुनबाट मुलुकलाई बचाउन राजनैतिक दाउपेचका कुरा छाडेर सबै मिलेर सम्भावित आर्थिक संकटबाट मुलुकलाई बचाउने उपाय खोजौं भन्ने आह्वान पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवन घेरेको समाचार पढियो । नेपालमा पनि आर्थिक संकट द्रुतगतिमा बढिरहेकोले समयमै सुधार्न सकेनौं भने श्रीलंकाको जस्तै दुराबस्था नआउला भन्न सकिन्न । तसर्थ राजनैतिक दाउपेचका कुरा छाडौं। सबै मिलेर सम्भावित आर्थिक संकटबाट मुलुकलाई बचाउने उपाय खोजौं ।’

हजारौँ आक्रोशित प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाली राष्ट्रपति राजापाक्ष भागेका छन् । कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि दबाबमा परेका राष्ट्रपति राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवास छोडेर भागेका हुन् ।

राष्ट्रपति राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बहिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् । हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।

उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाई छ । दुबै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् ।

उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने उनीहरुको विश्वास छ । श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो । श्रीलंकामा आर्थिक संकट गहिरिँएर प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएकाे छ । देशमा विदेशी सञ्चिती सकिनुका साथै इन्धन अभाव भएकोले विद्यालय बन्द रहेका छन् । केही दिनअघि मात्रै राष्ट्रपति राजापाक्षेले रुसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयाेग मागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !