८ जेष्ठ २०८१, मंगलबार

बाजुराको बुढीगंगा नगरपालिकामा बिहानैदेखि मतदान सुरू


बुढीगंगा नगरपालिका

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहानैदेखि मतदान सुरू भएको छ । स्थगित भएको स्थानीय तहको निर्वाचन आज बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित गरिएका छन् भने १० वटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।

मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका जनाइएको छ । उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेका छन् ।

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन झण्डै एक सय जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !