२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाद्वारा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई सर्बसम्मतीले पारित गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) बिधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताब प्रस्तुत गरेका थिए ।

कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहित उक्त विधेयक उपर बैठकमा छलफल भई छलफलमा उठेका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिए पछि बिधेयक पारित गरिएको थियो ।

प्रतिनिधि सभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतीले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि सर्वसम्मतीले स्वीकृत गरेको छ । स्वास्थ्यमन्त्री खापुङले नै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताब प्रस्तुत गरेका थिए ।

दुबै प्रस्ताबहरु माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको स्वास्थ्यमन्त्री खापुङले जवाफ समेत दिएका थिए ।

दोस्रो बैठकमा सभामुख सापकोटाले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयकलाई निणर्यार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

नियमापत्ति पछि ३ मिनेट घण्टी बजाएर सांसदहरुको संख्या एकीन गर्दा कम्तिमा पनि एक तिहाई अर्थात् ६९ जना हुनुपर्नेमा उपस्थित सांसदहरुको संख्या जम्मा ६७ मात्र देखिएकाले बैठक भोलि सम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक भोलि असार २३ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !