२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले अव आफैं अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अव आफैं अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा शर्माले सम्बोधन गर्दै अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनको लागि गठन भएको विशेष संसदीय समितिलाई सहयोग गर्न भन्दै शर्माले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री शर्माले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌को अध्यक्षको हैसियतमा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारीमा आफूलाई तोक्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार देउवाले सम्हालेगरी तोकेको राष्ट्रपति कार्यालयले आज बेलुकी एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने गरी तोकेको जनाएको छ ।

माओवादीले शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने तयारी गरेको छ । आज बुधबार संसद् भवन बाहिर माओवादी नेता वर्षमान पुनले आरोप पुष्टि नभए फेरि शर्मा नै अर्थमन्त्री दोहोरिने बताएका थिए । यसअघि सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउँदा अर्थ मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले अव अर्थ मन्त्रालयसहित तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !