१९ असार २०८१, बुधबार

मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको राजीनामा मागेपछि…


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका हुन् ।

यसैगरी आजको मन्त्रिपरिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरुले पनि अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ भनेर चौतर्फी आवाज उठिरहेका बेला आज मन्त्रिपरिषद्‌को बैठकमै समेत राजीनामा दिनुपर्ने कुरा उठेको हो । बैठकमा कांग्रेसका केही मन्त्रीले चौतर्फी रुपमा प्रश्न उठिसकेकाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

हिजो सोमबार संसदमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना गरेका थिए ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चौतर्फी चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सिसिटिभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग बढ्न थालेपछि प्रधानमन्त्री देउवा अहिले तनावमा छन् ।

प्रमुख प्रतिपक्षी दलका साथै प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसकै महामन्त्री गगन थापाले समेत छानबिनमा सहयोग गर्न अर्थमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । नेकपा एमालेको भातृ संगठनले आजै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै काठमाडौंमा बृहत प्रदर्शन गरेको थियो ।

यसका साथै अर्थमन्त्रीकै पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

आज मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले प्रचण्डले प्रधानमन्त्री र सभामुखसंग छलफल गर्ने निष्कर्ष निकालेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माको बारेमा संसदीय छानबिनको माग गरेपछि प्रचण्डले प्रधानमन्त्री र सभामुखसंग छलफल गर्न लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेताले नै संसदको ध्यानाकर्षण गराएको र सरकारमा चरम दबाब बढेपछि निकासका लागि प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल बाध्य भएका हुन् । संसदीय छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउने वा राजीनामा दिएर विवाद समाधान गर्ने भन्ने विषयमा निकास दिन छलफल गर्न लागिएको हो । प्रचण्डले विवादित अर्थमन्त्री शर्माको सेफ ल्याण्डिङको विवाद समाधानका लागि प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग छलफल गर्ने भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डले प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग अर्थमन्त्रीका बारेमा छलफल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !