१४ बैशाख २०८१, शुक्रबार

देउवालाई गगन-विश्वप्रकाशको आग्रह : एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्


गगनकुमार थापा, शेरबहादुर देउवा र विश्वप्रकाश शर्मा

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई सधैँका लागि बन्द गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमबार महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आवश्यक धारणा बनाउन प्रतिपक्ष दलसहितको सर्वदलीय बैठक अविलम्व डाक्न माग गरेकापनि छन् । उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।

महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। उनीहरुले देउवासंग पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिबारे छलफल गरेका हुन् ।

उनीहरुले पार्टीको आन्तरिक, राष्ट्रिय राजनीति र समसामयिक ९ वटा विषय उठाएका छन् । पार्टीको १४ औँ महाधिवेशन मात्र नेतृत्व चयनका लागि भएको भन्दै महामन्त्रीद्वयले महाधिवेशन अघि भनिएको नीति अधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

जवाफमा सभापति देउवाले आफूलाई सम्पूर्ण विषयमा जानकारी भएको भन्दै आवश्यक परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए । भोलि मंगलबार पुनः छलफल गर्ने र सोही बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !