२१ बैशाख २०८१, शुक्रबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित


मतगणना सुरु फाइल फोटो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन ।

निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ ।

निर्वाचन अधिकृत जानुका सुवेदीले पुनः मतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताए ।

निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।

वडा नं ४ को मतगणना गर्न थालेपछि केसी र कांग्रेसका प्रतिनिधिले पुनः मतगणनाको माग गरेका हुन् । अन्नपूर्ण–३ मा खसेको मतभन्दा गणना भएको मत सङ्ख्या बढी भएको केसीको भनाइ छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रबार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो ।

पुनः मतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजी गरेका थिए । विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर गएका थिए ।

अन्नपूर्ण–१ मा एमालेका दिलीपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित हुनुभएको थियो । अन्नपूर्णको दुईवटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, कांग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र कांग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !