१२ बैशाख २०८१, बुधबार

दार्चुलाको छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याईँदै


हेलिकोप्टर फाइल फोटो

दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको ।

दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो ।

व्यास गाउँपालिका–१ का दुई मतदान केन्द्रमा ३५० बढी मत खसेको छ । मोती महिला सङ्घ आधारभूत विद्यालय तिङ्करमा १३६ र कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मत खसेको हो ।

तिङ्कर मतदान केन्द्रमा ७३ पुरुष र ६३ महिलाले मतदानमा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । सो मतदान केन्द्रमा एक घण्टाअघि नै मतदान सकिएको थियो ।

तिङ्कर मतदान केन्द्रमा कूल १११ पुरुष र १२० महिला मतदाता थिए । कैलाशपति आधारभूत विद्यालय छाङ्गरुको मतदान केन्द्रमा ११२ महिला र १०७ पुरुषले मतदान गरेका जनाइएको छ ।

यो मतदान केन्द्रमा १७७ पुरुष र १९९ महिला मतदाता थिए । व्यास गाउँपालिकाका छवटै वडामा पाँच हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !