१४ बैशाख २०८१, शुक्रबार

समयमै सूचना प्राप्त भए मात्रै समस्या समाधानको रणनीति बनाउन सकिन्छ : गृहमन्त्री खाण


गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सत्य, तथ्य, सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागको आज निरीक्षणपछि गृहमन्त्री खाणले सत्यतथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पुर्याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताए । नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियो ।

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना तथा त्यसले पार्ने प्रभावको विश्लेषण गरी सरकारलाई उपलब्ध गराउँदै आएको र आगामी दिनमा योभन्दा प्रभावकारी सूचना र विश्लेषण दिने विश्वासमा सरकार रहेको बताए ।

“विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक र प्रविधिबारे के कस्ता नयाँ सूचना के आएका छन्, त्यसको प्रभाव के पर्छ ? यसबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,” गृहमन्त्री खाणले भने ।

राज्यलाई तत्काल सथ्यतथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अङ्ग भएको गृहमन्त्री खाणले बताए । अनुसन्धान विभाग कमजोर भएमा मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताए । लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वाभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुँने उनले बताए ।

मुलुक स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले निर्वाचनलाई स-साना घटनाले प्रभाव पार्ने बताए । घटना घट्न सक्ने पूर्वानुमान र घटना घटिहालेमा समयमै सूचना प्राप्त भएमा तत्काल समाधान खोज्ने रणनीति बनाउन सकिने भन्दै उनले त्यो काम अनुसन्धान विभागले गर्न सक्ने बताए ।

गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौती बढेको भन्दै त्यो चुनौतीलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिको प्रयोग गरी सबै स्थानका सूचना एकै स्थानमा बसेर सङ्कलन गर्ने संयन्त्रको विकास गर्नतर्फ लाग्न आग्रह गरे । अनुसन्धान विभागले उपलब्ध गराउने सूचना अझ परिस्कृत गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

गृहमन्त्री खाण, गृहसचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौति र सरकारले गर्नुपर्ने कामबारे अवगत गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !