भरतपुर । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको जित निश्चित भएको दावी गरेका छन् । सत्ता गठबन्धनले आयोजना गर्न लागेको संयुक्त चुनावी सभाका लागि भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सो दावी गरेका हुन् ।
उनले बिगतमा काँग्रेसको नेता समेत रहेका भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउनु नपर्ने समेत बताएका छन् । उनले स्वतन्त्र उम्मेदवार पौडेललाई फकाउनेतिर समय बर्बाद गर्नु भन्दा गठबन्धन आफ्नो लाइन क्लियर गरेर अगाडि बढिसकेको बताएका हुन् ।
उनले भरतपुरमा कसलाई जिताउने भन्ने जनताको हातमा भएकोले उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई भएको पनि स्पष्ट पारे । उनले भरतपुरमा धेरै कारणले नतिजा गठबन्धनको पक्षमा भएकोले चुनाव जित्न गठबन्धनलाई सहजै भएको संकेत समेत गरे ।
यता कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन लागी परेका छन् । पौडेललाई फकाएर उम्मेदारी फिर्ता गराएर गठबन्धनबाट मेयरकी साझा उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवा जोडले लागेका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा संयुक्त सभा गर्दै छ । भरतपुरमा आज हुन लागेको संयुक्त सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।
आगामी वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा आज संयुक्त सभा गर्न लागेको हो । आज हुन लागेको सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रचण्ड पुत्री माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् । भरतपुर महानगरपालिकामा मुख्य रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच जुँगाको लडाई भएको छ ।