१४ बैशाख २०८१, शुक्रबार

रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी


महिला नेत्री

रुपन्देही । रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

तिलोत्तमामा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहेकी ४३ वर्षीया उहाँ अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष पनि हुन् । तिलोत्तमा १३ मडहा घर भएकी उनी व्यवसायी हुन् ।

विसं २०५६ मा नेकपा (एमाले)को सदस्य बनेर पार्टीमा सक्रिय रहेकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका हुन् । उम्मेदवार चौधरीले बेरोजगार युवालाई सीपमूलक तालिमका साथै महिलाको हक र अधिकार र सशक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिए । उनले शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर जनतासामु जाने बताए ।

यसैगरी लुम्बिनीमा लामो समयदेखि समाजसेवामा सक्रिय रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । दयाराम हेल्थ फाउण्डेशनका उपाध्यक्ष रहेकी उनले लुम्बिनी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

लुम्बिनी सांस्कृतिक–१ निवासी यादवले सामाजिक सेवामा क्रियाशील रहँदा नागरिकको मनोभावना राम्रोसँग बुझ्ने मौका पाएकाले सोहीअनुसार काम गर्न आफूले उम्मेदवारी दिएको बताए । महिलामाथिको विभेद अन्त्य, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गरी भौतिक विकास र मानवीय विकासको सन्तुलन मिलाएर नगरको विकासको योजना लिएर चुनावी मैदानमा गएको प्रतिक्रिया दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !