१४ बैशाख २०८१, शुक्रबार

अन्तत: पछि हट्यो काँग्रेस, पोखरा एकीकृत समाजवादीको पोल्टामा


सत्ता गठबन्धन बैठक

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको छ । गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा दाबी छाडेसंगै महानगरपालिकाको भागबण्डामा सहमति भएको हो ।

आज मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिकामध्ये कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ वटा दिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनमा भएको सहमतिअनुसार अव काठमाडौं, ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादी पार्टीले पाउने भएका छन् ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशका पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेपछि नेकपा एकीकृत समाजवादीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

सभापति देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा आज मंगलबार काठमाडौं आएर उनीहरुले पोखरामा काँग्रेस र सत्ता गठबन्धनको अवस्थाका बारेमा सभापति देउवालाई ब्रिफिङ गरेका थिए ।

देउवाले गठबन्धनलाई टिकाएर भागबण्डा मिलाउन पोखरा एकीकृत समाजवादीलाई अनिवार्य दिनैपर्ने बाध्यता रहेको बताएपछि कास्कीका काँग्रेसका नेताहरु छाड्न सहमत भएका हुन् । काँग्रेसले आफ्नो दावी छोडेसंगै पोखरा महानगरपालिका एकीकृत समाजवादीको पोल्टामा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !