७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको चुनावी घोषणापत्र अन्तिम चरणमा


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए ।

मस्यौदाउपर बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी वैशाख २ गतेभित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरेर तयारी समितिले अन्तिम रूप दिने गरी पारित गरिएको छ ।

यसैगरी बैठकले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव र जीवन परियार तथा सदस्यहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, जिपछिरिङ लामा र एनपी साउँदले आ-आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !