१२ बैशाख २०८१, बुधबार

कुलमानको फोटो राखेर माओवादीले माग्यो चुनावमा भोट


Maoist Ask for Vote1_Prachanda-Janardan Sharma and Kulman Ghising

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर आसन्न स्थानीय निर्वाचनको प्रचार-प्रसार शुरु गरेको छ । माओवादीले अव ‘अँध्यारोवाट उज्यालोको यात्रा’ भएको भन्दै देश विकासको सपना अघि सारेको छ ।

आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत स्थानीय निर्वाचनमा भोट माग्दै लोडसेडिङ अन्त्य एउटा फड्को भएको र माओवादीले चुनाव जितेमा अब पालो नि:शुल्क बिजुली दिने समेत बताएका छन् ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ भन्ने नारासहितको ब्यानरमा माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो पनि राखिएको छ ।

यसरी कुनै राजनीतिक दलको चुनावी प्रचार-प्रसारको लागि सरकारी कर्मचारीको फोटो पोष्टरमा दुरुपयोग गर्नु शोभनीय कदापी पनि हुँदैन । राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा देखाइएका सपनाहरु सरकारमा हुँदा र नहुँदा पनि स्थापित गराएर जनताको मन जित्न सक्नुपर्छ ।

स्मरण रहोस् की विगतमा प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री भएका शर्मा र विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक घिसिङको अगुवाईमा शुरुमा काठमाडौं उपत्यका र पछि देशलाई नै लोडसेडिङ्गमुक्त गरेका थिए ।

यसरी माओवादी केन्द्रले चुनावी रणनीति लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका तत्कालिन उर्जामन्त्री एवं वर्तमान आलोचित अर्थमन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई अघि सारेको छ । आम जनताले माओवादीको उक्त नारा र रणनीतिलाई कत्तिको स्वीकार गरेर भोट दिन्छन् भन्ने नतिजाको लागि निर्वाचनको नतिजा नआएसम्म कुर्नुपर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत चैत्र १६ गते बुधबार चितवन राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको दावी गरेका थिए ।

उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताएका थिए । नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।

उनले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका थिए । चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह समेत गरेका थिए ।

Maoist Ask for Vote1_Prachanda-Janardan Sharma and Kulman Ghising


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !