१४ बैशाख २०८१, शुक्रबार

आचारसंहिता लागू हुनुअघि राजनीतिक नियुक्ति गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सम्भवतः भोलि शुक्रबारदेखि स्थानीय निर्वाचनको आचारसंहिता लागू हुने भएकोले त्यसको एक दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

निर्वाचनको आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न नपाउने भएकोले प्रधानमन्त्री देउवाले विभिन्न निर्णय र नियुक्तिहरु गर्ने प्रवल सम्भावना रहेको छ ।

निर्वाचन आयोगको आज वा भोलि बस्न लागेको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्ने तयारी गरेको छ । आयोग निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको हो ।

मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर विभिन्न निर्णय र नियुक्तिहरु गर्ने भएको हो । आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु र व्यापक रुपमा राजनीतिक नियुक्तिहरुको निर्णय गर्नसक्ने प्रवल सम्भावना रहेको हो ।

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने प्रचलन रहेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि विभिन्न बन्देजहरु लागू हुने भएकाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले केहीदेखि निर्वाचन केन्द्रित देश दौडाहा अभियानमा लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !