८ मंसिर २०८१, शनिबार

ओलीले उद्घाटन गरे दुर्गा प्रसाईंको २ अर्बको लगानीको तरकारी बजार


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गरेका छन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लगानीमा झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारको आज ओलीले उद्घाटन गरेका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ को उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकल स्कर्टिङ गरेर पुर्याएको हो ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा २ हजार २०० कक्ष रहेका छन् ।

४ हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताए ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उनले भने । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !